• जेष्ठ ८ २०८३, शुक्रबार

अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरी रकम झिक्ने पाेखराका आशिष पक्राउ

माघ २७ २०७९, शुक्रबार

काठमाडौं । अमेरिकामा रहेका नेपालीको फेसबुक प्रोफाइल ह्याक गरी रकम झिक्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–१९ लामाचौर स्थायी ठेगाना भएका २३ वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो ।

उनले अमेरिका बस्ने नेपालीको खाता ह्याक गर्दै पीडितको साथीसँग पैसा माग गरेका थिए । सोही अनुसार ५० हजार सापटी दिएकोमा फिर्ता नगरेपछि सोधीखोजी गर्दै फेसबुक ह्याक भएर ठगी भएको खुलेको थियो ।

‘साथीको सामाजिक सञ्जालबाट मलाई तत्काल केही रकम आवश्यक परेकोले मेरो खातामा केही रकम जम्मा गरिदिनु भनि बैंक खाता समेत उल्लेख गरेको म्यासेज प्राप्त भयो’, साइबर ब्यूरोमा परेको उजुरीमा भनिएको छ, ‘उक्त म्यासेजको आधारमा मैले साथीलाई सहयोग स्वरूप नेरु ५०,००० तत्काल मोबाइल बैङ्किङ सेवा मार्फत ट्रान्सफर गरिदिएँ । त्यसपछि २ दिन सम्म निज साथीसँग कुनै सम्पर्क नभए पछि निजलाई के भएछ, भनी मैले साथीको नजिकका अर्का साथीसँग सम्पर्क गरी जानकारी माग्दा सो साथीले तपाईंको साथीको सामाजिक सञ्जाल ह्याक भएको चार–पाँच दिन भइसक्यो भने पछि म छाँगाबाट खसे झैँ भएँ ।’

साथीको प्रोफाइल ह्याक गरी ठगी गर्ने उपर कारबाही गर्न माग गर्दै ब्युरोमा उजुरी परेसँगै ब्यूरोको टोलीले परियारलाई पक्राउ गरेको हो । उनले सोही प्रोफाइलमार्फत् सरसहयोगको विभिन्न बहाना बनाई डिजिटल वालेटहरूमा रकम पठाउन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

परियारलाई सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसुरमा दुई म्याद थप लिएर भई आवश्यक अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी पशुपतिकुमार रायले जानकारी दिए ।