काठमाडौं । काठमाडौंको रातोपुलमा माघ २४ मा ध्रुवबहादुर खड्का मृत भेटिए । वीरगञ्ज घर भएर टोखा नगरपालिका-३ बस्ने खड्कालाई आरोपीले बत्तिसपुतलीबाट लगेर रातोपुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३२ वर्षीय रामबहादुर थापालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । हत्यापछि भागेका आरोपी थापा कपनस्थित सरस्वतीनगरबाट पक्राउ परेका हुन् ।
मोरङको सुन्दर हरैंचा नगरपालिका-७ घर भएका रामबहादुरले ५७ वर्षीय खड्काको हत्या गरेर साथमा भएको पर्स, मोबाइल र बेल्ट समेत लुटेर लगेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले सञ्चारमाध्यमलाई बताए । बत्तिसपुतलीमा भोज खाएर निस्केका खड्कालाई आरोपीले ट्याक्सीमा चढाएर रातोपुलस्थित गल्लीमा लगेर लुटपाटको उद्देश्यले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । छातिमा लात्तिले हिर्काएर हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।
हत्यापछि लुटेको पर्सबाट पैसा निकालेर धुम्बाराहीस्थित बाँसको झाडीमा फालेको अवस्थामा भेटिएको छ । फोटो र सिमकार्ड लगायतका सामान झाडीमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
राष्ट्रिय बिमा संस्थानबाट दुई वर्षअघि अवकाश पाएका मृतक पछिल्लो समय व्यापार गर्दै आएका थिए । सुटेड-बुटेड देखेपछि लुट्ने उद्देश्यले आरोपीले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपी रामबहादुर थापाले गाँजाको प्याकेट बनाएर रातको समयमा पशुपति र ठमेल एरियामा ब्यापार गर्ने गरेको थाहा भएको छ ।
दुव्र्यसनीको लतमा परेका थापालाई २०७७ सालमा प्रहरीले पक्रेर मुद्दा चलाएको थियो । लागुऔषध मुद्दामा उनी धरौटीमा रिहा भएको रेकर्डबाट देखिएको एसएसपी कार्कीले जानकारी दिए । आरोपीविरुद्ध कर्तव्य ज्यान तथा डाँका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।