काठमाडौं । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर सेवामा प्रवेश गरेका तत्कालीन न्यायाधीश ओमकार उपाध्यायलाई दोषी ठहर गरेको छ ।
न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उपाध्यायलाई दोषी ठहर गरेको हो ।
अदालतले उपाध्यायलाई दोषी ठहर गर्दै ३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । उनीविरुद्ध २०७६ जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । तनहुँ जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।
भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ (२) अनुसार सजाय भएको विशेष अदालतले जनाएको छ । दफा १२ अनुसार झूटा शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेमा २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै दफा दफा २९ (२) मा ५ हजार रुपैयाँभन्दा बढी जरिवाना गर्न नमिल्ने उल्लेख छ । उपाध्यायलाई जरिवानामात्र गरिएको हो ।