काठमाडौं । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी छ ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद भने उपस्थित छैनन् ।
उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी केवल २१ मत छ ।
जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र १०, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ र राप्रपा १ को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो ।