काठमाडौं । राजनीतिक दलका नेताहरूले निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै कम खर्चमा निर्वाचन सम्पन्न हुने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरू तथा दलका प्रतिनिधिसँग निर्वाचन आयोगले निर्वाचन प्रणाली सुधारको सम्बन्धमा छलफल गरेको थियो । सो छलफलका क्रममा दलका नेताहरूले निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले कम खर्चमा निर्वाचन सम्पन्न हुने गरी व्यवस्था गर्न आयोगलाई सुझाव दिएका हुन् ।
छलफलमा बोल्ने अधिकांश नेताहरूले धन हुनेहरूले मात्रै वर्तमान प्रणालीमा निर्वाचनमा उम्मेदवार बन्नसक्ने अवस्था रहेको भन्दै आम नागरिकले निर्वाचनमा उम्मेदवार बन्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन धनाढ्यहरुले मात्रै लड्नसक्ने अवस्था रहेकाले त्यसको अन्त्य गर्ने गरी निर्वाचन ऐनमा सुधार ल्याउनुपर्ने सुझाव दिएको बताए ।
उनले मुचुल्का अनुरूप मतदान भएको बाकसमा मत फरक परेको अवस्थामा के गर्ने भन्ने ऐनमा स्पष्ट व्यवस्था नभएकाले त्यसको पनि स्पष्ट व्यवस्था हुनुपर्ने बताए । त्यसैगरी स्वच्छ छवि भएको व्यक्तिलाई मात्र उम्मेदवार बनाउने गरी प्रस्ट र पारदर्शी मापदण्ड बनाउनु पर्ने सुझाव आफूले राखेको उल्लेख गरे ।
त्यस्तै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री झनक प्याकुरेलले निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिएको बताए । उनले संघीयतालाई देशले बोक्न नसक्ने भएकाले त्यसको विकल्पमा जनउत्तरदायी शासन प्रणाली ल्याउनुपर्नेमा पनि आफूले सुझाव दिएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले आफ्नो पार्टीको तर्फबाट पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड दिइएको दिए । त्यस्तैगरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनेगरी शासकीय स्वरुप बनाउनुपर्नेमा पनि उनको भनाई छ । विदेशमा रहेका नेपालीलाई मतदानको प्रक्रियामा ल्याउनुपर्ने विषय पनि सबैले उठाएका उनले जानकारी दिए ।