• बैशाख २८ २०८३, सोमबार

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छ: उपप्रधानमन्त्री श्रेष्ठ

माघ २५ २०७९, बुधबार

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन् ।

आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन) को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको उल्लेख गरे ।

गौरीडाँडास्थित आधारशीलाका प्रमुख संरक्षक रहनुभएका श्रेष्ठले २० वर्षअघि ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास’को बाटो अवलम्बन गर्ने ध्येयका साथ कम्युन (आधारशीला) स्थापना गरिएको स्मरण गरे। ।

अहिले पूर्वमन्त्री गिरिराजमणि पोखरेलसहित १६ परिवार एकसाथ बसोबास गरिरहेका कम्युन (आधारशीला) मा प्रवेशकै लागि क्रान्तिनिष्ठ हुनपर्ने, निजी सम्पत्ति त्याग गर्न सक्ने, मार्कस शिक्षाको प्रसारका लागि वैचारिक काममा सङ्गठित जिम्मेवारी लिने, सामूहिक श्रम गर्न उद्यत हुने र आचरण तथा चरित्रमा समाजवादी संस्कृतिलाई आत्मसाथ गर्नसक्ने प्रारम्भिक प्रतिबद्धता आवश्यक रहेको समारोहमा स्पष्ट पारिएको थियो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा आधारशीला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न दलका प्रतिनिधिले शुभकामना व्यक्त गर्दै आधारशीला सामूहिक परिवारको एउटा अनुकरणीय उदाहरण रहेको बताए ।