• बैशाख २८ २०८३, सोमबार

माओवादी, नेकपा (एस), नागरिक उन्मुक्ति र अन्य दलसँग एकता गर्न जसपाको हतारो, कनिष्ठलाई वार्ताको प्रस्ताव

माघ २४ २०७९, मंगलवार

काठमाडौं । कुनै समय मधेसमा ठूलो आयतन भएको दल जनता समाजवादी पार्टी (जसपा) गत निर्वाचनको परिणामले खुम्चिएको छ । निर्वाचनले उसको आकार मात्रै खुम्च्याएन, पार्टी अध्यक्ष उपेन्द्र यादव पराजयको सिकार बन्नुपर्यो ।

त्यसयता जसपा र उसका शीर्ष नेताहरू नै धर्मराएका छन् । आगामी पाँच वर्षपछि हुने निर्वाचनको सिकारबाट बञ्चित हुन जसपाले आजैदेखि दलहरूसँग एकता अभियान चलाएको छ । त्यतिमात्रै होइन, पाँच वर्षपछि हुने निर्वाचनमा सबैभन्दा ठूलो मधेसवादी दल बन्ने उसको चाह छ ।

उसले यहीँ चाहलाई साकार पार्न आफूसँग विचार मिल्ने दलहरूसँग धमाधम एकताको प्रस्ताव अघि बढाएको छ । यद्यपि उसले आफूभन्दा कनिष्ठ मात्रै नभएर संसद्को तेस्रो ठूलो शक्ति नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूसँग एकताका लागि प्रस्ताव गरेको छ ।

जसपाले एक महिनाअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई एकीकृत समाजवादीले स्वीकार गरेको एकता वार्ता समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले बताए ।

संयोजक श्रेष्ठका अनुसार, ‘आजको आवश्यकता टुटफुट नभएर एकता हो । एकता नै बल हो । बलको जगमा टेकेर हामीले आफ्नो अस्थित्वलाई उचो राख्ने हो । जनताको चाहना पनि दलहरू एकै ठाउँमा उभिएर विकासको मूल फुटाउन भन्ने अपेक्षा छ । सोही अनुरूप हामी एकताको अभियानलाई निरन्तरता दिँदै आएका छौँ ।’

‘यसअघि हामीले एकीकृत समाजवादीसँग एकताको प्रस्ताव गरेका छौँ । उसले पनि एकतालाई सकारात्मक ढंगले लिएको छ । त्यसका लागि हाम्रो गृहकार्य शुरु भईसकेको छ । जसपा र एकीकृत समाजवादी लगभग एकताको सन्निकटमा छन् । साठ्ठी प्रतिशत एकता कार्य सम्पन्न भएको छ । सकभर छिट्टै एकीकृत समाजवादी र जसपा एक ठाउँमा उभिनेछन्’ संयोजक श्रेष्ठ भन्छन् ।

एकीकृत समाजवादीले पनि जसपाले गरेको एकता प्रस्ताव स्वीकारेको बताएको छ । पूर्वमन्त्री तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफ्नो पार्टी एकता गर्न तयार भएको बताउँछन् ।

उनी भन्छन्, ‘दलहरू आपसमा विभाजन हुनु राम्रो होइन । तथापि नेतृत्वको व्यक्तिगत कुण्डा र आकांक्षाले पार्टीहरू फुटको सिकार बन्छन् । यो हाम्रो मात्रै नभएर नेपालका अधिकांश राजनीतिक दलको रोग बनेको छ । यसको उपचार एकता नै हो । यसर्थ विगतमा बाँडफाँडको सिकारबाट पाठ सिकेर उप्रान्त विभाजन नहुने गरी जसपासँग एकता गर्छौँ ।’

त्यस्तै जसपाले पार्टी एकताका लागि प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)सँग पनि एकताको प्रस्ताव अघि बढाएको छ । तर, माओवादी केन्द्रले पार्टी र सरकारको जिम्मेवारीले एकताको प्रस्तावलाई स्वीकारे पनि हेराफेरी नभएको वरिष्ठ उपाध्यक्ष समेत रहेका पार्टी प्रवक्ता कृष्णबहादुर महरा बताउँछन् ।

‘हामी जसपासँग मात्रै नभएर वाम एकताको पक्षमा छौँ । हामीले विगत लामो समयदेखि एकताको अभियान नै नचलाएका होइनौँ । तर, केही पार्टीमा एकता नै नचाहने प्रवृत्ति हावी हुनुले एकता अभियानले पूर्णता पाउन सकेन । यद्यपि हामी जसपासँग एकता गर्न तयार छौँ,’ श्रेष्ठ भन्छन् ।

त्यसैगरी जसपाले नागरिक उन्मुक्ति पार्टीसँग पनि एकता प्रयासका लागि छलफल गरेको बताएको छ । उसले एकताका लागि सामान्य छलफल गरे पनि नागरिक उन्मुक्तिले तत्काल एकताभन्दा आफ्नो मुद्दालाई प्राथमिकतामा राखेको बताएको छ । उसले आजीवन काराबास सजाए भोगिहेका पूर्वसांसद रेशम चौधरीको रिहाइको जोडदार माग गरेको छ । तर, एकतालाई पनि उसले सकारात्मक ढंगले लिएको बताईएको छ ।

हिजो (सोमबार) जसपाले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ । पार्टीको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरूबीच एकता खोजिरहेको छ ।

एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डा स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडी परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी÷दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने’ पत्रमा उल्लेख गरिएको छ ।

‘पार्टी एकताको लागि विचारधारात्मक र संगठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ’ पत्रमा भनिएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने यसबारेमा हालसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।