• मंसिर २० २०८१, बिहीबार

रविको अभिव्यक्तिमा नैराश्यता

माघ २४ २०७९, मंगलवार

देशको उपप्रधानमन्त्री भइसकेको रवि लामिछाने मिडियाका अगाडि जसरी बोले त्यो अशोभनीय र निन्दनीय छ । संविधानले हामीलाई वाक स्तन्त्रता दिएको छ । संविधानले वाक स्वतन्त्रता दिएको छ भन्दैमा निर्लज्ज तरिकाले बोल्ने छुट भने कसैलाई दिएको छैन ।

लामिछानेले मिडिया माथि जुन आरोप लगाएका छन् त्यसको पुष्टि स्वयं उनले गर्नुपर्छ । सबैलाई एउटै घानमा हालेर पत्रकार सबै फोहोर भयो भनेर भन्न मिल्दैन । फोहोर भए के कति भयो त्यस्को फेरिस्त उनले दिनै पर्छ । सार्वजनिक रुपमा उनले लगाएको आरोप प्रमाणित हुन सकेनन् भने लामिछानेले माफि माग्नुपर्छ । कुनै व्यक्ति विशेषको कुरालाई लिएर समग्र पत्रकारिता क्षेत्र नै दुषित भयो भन्न रविले सुहाउँदैन ।

यो देशमा प्रजातन्त्र स्थापनाका लागि मिडियाले खेलेको भूमिका अतुलनीय छ । बैकल्पिक राजनीतिक शक्तिले भ्रष्टाचार र शुसासनविरुद्ध लड्नु पर्ने हो तर रविले त्यसमा आँट गर्न सकेनन् । बोरु हिजोका संसदीय राजनीतिमा माहिर भनेकाहरु भन्दा एक कदम माथि उठेर उनले घृणा र अहंकारको पुलिन्दा पोख्ने काम गरे । लामिछानेले पत्रकारसम्मेलन मार्फत जे बोले र जस्तो शब्द प्रयोग गरे त्यो अहिलेको शिक्षा र चेतनामूलक दिने खालको छैन । उनी लोकतान्त्रिक भन्दा पनि निरंकुश जस्तै भएर निस्किए । बोरु रवि भन्दा बढी लोकतान्त्रिक त उही पुरानो दल देखिए । पुराना दल जसले आलोचना र गालीलाई आत्मसात गरेर मिडिया सामु सभ्य भाषामा बोल्छन्, फरक मतको स्वागत गर्दै सरल तरिकामा बोल्छन् । पत्रकार सम्मेलनमा उनले जुन हर्कत देखाए त्यो राजनीतिक व्यक्तिले गर्ने अभिव्यक्ति छदै थिएन । उनको पत्रकार सम्मेलन आक्रोश, कुण्ठाले भरिएको मात्रै देखिन्थ्यो ।

रविको पार्टी अरू पार्टीभन्दा स्वच्छ थियो भने उनले सुरुमै भन्नुपर्ने थियो- हामी जनताको दलानसम्म अर्थात् संसद्सम्मलाई मात्र बोलाइएका हौँ । तर उनी तल्लो तलाबाट माथि मात्रै उक्लिएनन् धुरीमै चढेर चिच्चाए । उनले संसदमा प्रवेश गरेपछि भन्नु पर्थ्यो हामी बुइकलमा उक्लन्नौ । नागरिकले हामीलाई संसदसम्म जाने अधिकार दिएको छ । माथिल्लो तलामा नजाउ भनेको छ भन्न सक्नुपर्थ्यो । तर लामिछाने सत्ताको भोकमा कार्यपालिकासम्म पुगे । साथै शुसासन कायम गर्छु भने राहदानीको विषयमा उनको बारेमा अनुसन्धान भइरहेको बेला उनले गृह मन्त्रालय सम्हाले । जुन मन्त्रालयमा जानु हुदैन थियो उनले उही पुरानो दल भन्दा एक स्टेप माथि उक्लेर निर्णय गरे । राजनीतिमा उनले जुन इमान र धर्म देखाउनुपर्थ्यो त्यो गरेनन् । बोरु हामी पनि बुइकल उक्लियौ भनेर सन्देश दिए ।

नागरिकमा रवि लामिछानेको उदयले अरू पार्टीमा पनि सुधारको संकेत होला भन्ने आशा थियो । जनताले बैकल्पिक शक्तिको रुपमा भरोसा पनि गरेका थिए । उनलाई दिएको मत आशाको दियो थियो । तर लामिछानेले त्यो दियो नभाउने मात्रै काम गरेनन् । पानी पनि खन्याउने काम गरे । राजनीतिमा उनको आगमनले नागरिकमा देशमा केही सकारात्मक सपना सञ्चार भएको थियो । त्यो आशा पूर्णतः निराशामा बदलिएको छ । पत्रकार सम्मलेनको उनको हर्कतले नेता माथिबाट, गालीगलौजबाट, सोसल मिडिया, मिडियाबाट, चमत्कारबाट जन्मिँदैन भन्ने सन्देश दिएका छन् । उनको अभिव्यक्तिले कुरुणा होइन घृणा र दोषारोपण र क्रोध र रिस मात्रै छताछुल्ल गरे ।