काठमाडौं। प्रदेश १ को प्रदेशसभाको छैटौं बैठक सकिँदासम्म सांसदहरुले शून्य समयमा बोल्न पाएका छैनन् । मङ्गलबार बस्ने सातौं बैठकमा पनि सांसदहरुले शून्य समयमा बोल्न पाउने सम्भावना कमजोर रहेको बताइएको हो ।उक्त बैठकलाई प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेकाले यस्तो सकभावना रहेको बताइएको छ ।
प्रदेशसभाको पहिलो बैठक गत पुस १७ गते बसेको थियो । तर, संघीय संसदमा सांसदहरुले जनसरोकारका विषयहरु खरो रुपमा राखिरहँदा प्रदेशका सांसद भने बैठकमा सहभागी हुँदै फर्किनु परेको छ । बोल्न चाहनेहरुले पनि बोल्न पाएका छैनन् ।
सोमबारको प्रदेशसभा बैठकमा सांसदहरुले शून्य समयमा बोल्ने अपेक्षा थियो । तर, प्रदेशसभा बस्नु अघि बसेको दलहरुको संयुक्त बैठकमा कार्यव्यवस्था परामर्श समिति नै नबनेको भन्दै नेकपा एमालेले समिति गठन भएपछि मात्रै सांसदहरुलाई बोल्ने दिनुपर्ने बताएको थियो । एमालेको प्रस्तावमा काँग्रेस सहमत भएसँगै शून्यसमयमा बोल्ने विषय हटाइएको स्रोतको दाबी छ ।
बैठकको प्रारम्भमा सभामुख बाबुराम गौतमले पछिल्लो पटक भएको मन्त्रीपरिषद्को कार्यविभाजनबारे प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाएका थिए ।
त्यसपछि बैठक अगाडि बढाउन खोज्दा भने नेपाली काँग्रेसका सांसद केदार कार्कीले टेबल ठोकेर विरोध जनाएका थिए । सभामुखले बोल्न दिएसँगै कार्कीले शून्य समय नदिइएको भन्दै ‘सेटिङ’ गरिएको आरोप लगाए । उनले आफ्नै संसदीय दलका नेता उद्धब थापाप्रति कटाक्ष पनि गरे ।