• बैशाख २८ २०८३, सोमबार

रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश

माघ २२ २०७९, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा तल्ला अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश गरेको छ ।

न्यायाधीश टंक मोक्तान र मनोज शर्माको इजलासले चौधरीको पुनरावेदन मुद्दामा सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ । प्रत्यर्थी भनेको उनको पुनरावेदन निवेदनमा प्रतिवादी बनाइएका संस्था वा व्यक्ति हुन् । उच्च अदालत दीपायलले जन्मकैदको फैसला सदर गरेपछि त्यसविरूद्ध उनी सर्वोच्च अदालत आएका थिए ।

दीपायल अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैद गरिएको जिल्ला अदालत कैलालीको फैसला सदर गरेको थियो । कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाइ हुने फैसला गरेको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा थरूहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो । सोही मुद्दामा चौधरी सहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो भने ३१ जना फरार छन् । फरार रहेका ३१ जनाको मुद्दा अहिलेलाई मुल्तवी (पक्राउ परेपछि फाइल खोल्नेगरी स्थगित) मा राखिएको छ ।