काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
उक्त निर्णयपछि आज नै राजीनामा बुझाउने रास्वपाका सभापति रवि लामिछानेले बताए । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनीहरूले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा दिन लागेका हुन् । सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो ।
रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन् । यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेले माघ १३ गते राजीनामा दिएका थिए । उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।