• बैशाख २८ २०८३, सोमबार

शिक्षामा सुधार गरे मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिन्छ : प्रधानमन्त्री दाहाल

माघ २० २०७९, शुक्रबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले शिक्षामा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिने बताएका हुन्।

प्रधानमन्त्री दाहालले विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोगको अपेक्षा गरे।

फरक प्रसंगमा प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको भन्दै आफ्नो तेस्रो कार्यकालको जिम्मेवारी पछि मन्त्रिपरिषदको पहिलो बैठकबाट अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको दावी गरे ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको भन्दै आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त हुनुले जिम्मेवारी र चुनौति थपिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्बोधन गरेका थिए