पोखरा, महानगरपालिका ‘लखन चोक’ मा रहेको सहिद लखन थापा मगरको ‘सालिक’ परिधी भित्र पूर्व राजा पृथ्वीनारायण शाहको ‘सालिक’ राखिएको प्रति नेपाल मगर संघका अगुवाहरुले आपत्ति जनाएका छन् । राजावादी समर्थकहरुद्वारा सहिद लखन थापा मगरको ‘सालिक’ परिधी भित्र पूर्व राजा पृथ्वीनारायण शाहको ‘सालिक’ राखिएको प्रति घोर आपत्ति जनाउदै सो ‘सालिक’ तुरुन्तै हटाउन मगर संघका नेताहरुले अनुरोध गरेका छन् हुन् । अन्यथा सिङ्गो मगर समुदाय आन्दोलनमा जाने चेतावनी दिदै महानगरपालिकाको ध्यानाकर्षण गरेका हुन् ।
स्थानीय चुनावपछि पोखरा महानगरले ०७४ असोज ९ गते पनि रातारात डोजर चलाएर थापाको सालिक ढाल्यो । चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको मेयर मानबहादुर जिसीले तर्क गरेका थिए ।
तर, नेपाल मगर संघ सहितका विभिन्न जनजाति समुदाय महानगरले शालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विरोध जनाएका थिए । उनीहरुले महानगरले पुनः लखनको सालिक नठढ्याए आफैं निर्माण गर्ने चेतावनी दिएपछि महानगर पछि हटेको थियो ।
जंगबहादुरको निरंकुश शासन विरुद्ध राजनैतिक दस्तावेज तयार गरी सशस्त्र विद्रोह गर्ने नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गर्यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो।
प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो ।