काठमाडौं । दोलखामा प्रतिनिधि सभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताले नेकपा एमाले जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राजीनामा दिने घोषणा गरेका हुन् । माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पराजित गरेपछि एमालेलाई दोलखामा धक्का लागेको छ ।
कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका थिए । दोलखामा अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।