• बैशाख २८ २०८३, सोमबार

राजनीतिक लाइन स्पष्ट नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टीमा भद्रगोल

मंसिर १८ २०७९, आईतवार

काठमाडौं । चुनाव जितेर सरकारमा जानेबेलैमा रवि लामिछानेको पार्टीमा लफडा सुरु भएको छ । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो । स्रोतका अनुसार २ सय ४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन् ।

न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ । यता न्यौपानेले भने आफूमाथि गुटबन्दी भएको प्रतिक्रिया दिएका छन् ।

पार्टीले राष्ट्रिय दलको हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएको उनले दाबी गरे । विपक्ष दलका उम्मेदवार भेटेको विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीति अनुसार भेट गरेको बताए । अर्को एक स्रोतका अनुसार सो पार्टीमा हाल सो पार्टीमा वामपन्थी लाइन लिने की दक्षिणपन्थी लाइन लिने भन्ने बारेमा बहस भएको बताइएको छ ।

प्राप्त समाचार अनुसार सभापति लामिछाने लगायत बहुमत सदस्यले दक्षिणपन्थी लाइन, शिशिर खनाल लगायतले वामपन्थी लाइन र विराजभक्त श्रेष्ठ लगायतले मध्यपन्थी लाइन लिनुपर्नेमा अडान लिएको बताइन्छ । विचार र सिद्धान्तको टुंगो लागेर पार्टी बनाएर चुनावमा जानु पर्नेमा यो पार्टी सुरुमै चुनावमा सहभागी भएर विजयी भएर आएपछि मात्र लाइनको बहस भएको छ ।