• बैशाख २८ २०८३, सोमबार

स्वतन्त्र भनिनेहरुका कारण सोचेजति मत नआएको माओवादी सचिवालय बैठकको निष्कर्ष

मंसिर १७ २०७९, शनिबार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोचेजति नतिजा नआएको बताएका छन् ।

निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष  दाहालले सो कुरा बताएका हुन् ।

बैठकमा अध्यक्ष  दाहालले  प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताए ।

बैठकमा उनले भने– ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक नतिजा आयो । हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’

बैठकमा अध्यक्ष प्रचण्डले अहिले जेजति सिट आएको छ त्यसलाई लिएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘अब अरु विकल्प खोज्नेतिर जानु हुन्न ।

गठबन्धनको भागवण्डा सहमतिमा प्याकेजमा टुङ्गो लगाउनुपर्छ भन्ने अध्यक्षको भनाई छ’ प्रचण्डको भनाई उदृत गर्दै पौडेलले भने ।

आजको बैठकमा चुनावको समीक्षामा केन्द्रित भइ छलफल भएको उनले बताए । बैठकमा  दाहालले हरिबोल गजुरेलको पत्रको विषयमा समेत जवाफ दिएका छ्न ।

‘अध्यक्षले अहिलेको परिस्थिति बुझिदिन आग्रह गर्नुभयो, मलाई किन टिकट नदिएको भन्ने विषयमा जवाफ दिनु भयो’ गजुरेलले भने ।

बैठकमा निर्वाचनको समीक्षा र भावी कार्ययोजनाका विषयमा छलफल भएको बताइएको छ ।