• बैशाख २७ २०८३, आईतवार

बालेनले जवाफ फर्काएपछि रावलले भने- `आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसँग मेल खान्न´

मंसिर १७ २०७९, शनिबार

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले जवाफ फर्काएपछि नेकपा एमालेका नेता भीम रावलले शाहलाई प्रतिप्रश्न गरेका छन् ।

रावलले “तपाईंहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि? भन्दै शाहलाई प्रश्न गरेका हुन् ।

यसअघि शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीबार भएको भेटका विषयमा एमाले नेता भीम रावलले प्रश्न उठाएपछि बालेनले पनि लगत्तै जवाफ फर्काएका थिए ।  रावलले भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भएर जवाफ दिन चुनौती दिएका थिए ।  रावलले सामाजिक सञ्जालमार्फत गरेको प्रश्नलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूहरूले भेटका लागि अनुमति दिएको बताएका थिए ।

प्रतिप्रश्न गर्दै रावलले सामाजिक सञ्जालमा लेखेका छन्,
‘नेपालको संविधान अन्तर्गत जननिर्वाचित निकायका कुनै पनि व्यक्तिले कुनै पनि नागरिकले उठाएका प्रश्नको तथ्यसंगत जवाफ दिनु पदीय दायित्व नै हो । मैले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन भनी प्रश्न गरेको थिएँ । किनकि नेपालको संविधानले स्थानीय निकायलाई कुनै पनि विदेशीसँग सोझै सम्बन्ध कायम गर्ने अधिकार दिएको छैन । नेपालको संविधान अनुसार नेपालको परराष्ट्र सम्बन्धको सञ्चालनको सम्पूर्ण अधिकार संघीय सरकारमा निहित छ । यस्तो संवेदनशील विषयमा बालेन शाहजीले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण पर्याप्त र इमान्दार जवाफ ठहरिन्थ्यो । तर उहाँले “तपाईंहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि? म फेरी पनि बालेनजीलाई प्रश्न गर्छु- के तपाईंले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो? तपाईंले भन्नु भए झैँ “उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि” भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट “स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो? परराष्ट्र मन्त्रालयको पत्रबाट? फोनबाट वा इमेलबाट ? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस् । आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसँग मेल खान्न ।

तपाईंले असान्दर्भिक नै भए पनि जवाफमा “विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्नु भएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईंले पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।’