काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीहरू केपी ओलीको भोट बैंक मात्र रहेको आरोप लगाएका छन् । मंगलबार फेसबुकमा स्टाटस राख्दै बालेनले केपी ओलीको लागि सुकुम्बासीहरू केवल भोट बैंक मात्र रहेको बताएका हुन् ।
अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको उक्त धारणा आउनु सामान्य विषय भएको बालेनले स्टाटसमा लेखेका छन् ।
मंगलबार दिउँसो च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका थिए ।
‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ । पक्की भवन भत्काउन हो र ? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान् । सुकुम्बासी हाम्रा शत्रु होइनन् । डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो’, ओलीले भनेका थिए ।
सोही वक्तव्यको जवाफ दिँदै बालेनले २०४७ सालयता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको तर्क गरेका छन् ।
‘दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ?,’ उनले लेखेका छन्,‘सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे । बरू तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो ।’