काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाएका छन् ।
मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने अवस्था रहेकोमा अहिले ४४ सिट रहेको र बाँकी सिट एमालेको हातबाट फुत्काउने प्रयास भइरहेको दाबी गरे ।
उनले कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेर ६ सिटको मत परिणाम आउन ढिलाइ भइरहेको बताए । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने बताए ।
चर्को घेराबन्दी र चक्रव्यूहमा पनि नेपालको लोकप्रिय पार्टीको रूपमा एमाले हो भन्ने जनमतबाट स्थापित भएको उल्लेख गरे । गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमाले बलियो भएको दाबी गरे ।
एमालेलाई सरकार गठन हुन नदिन दौडधुप भइरहेको बताए । मतगणना नसकिँदै सरकार बनाउन दौडधुप गरिरहेको उल्लेख गरे ।