• बैशाख २७ २०८३, आईतवार

थापाथलीमा नगर प्रहरीमाथी आक्रमण गर्नेहरुलाई कारवाही गर्न माग

मंसिर १२ २०७९, सोमबार

काठमाडौं । बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरू विरुद्ध काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको हो ।

नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीर रूपमा घाइते बनाएको र उनीसहित तीनजना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरूलाई साङ्घातिक आक्रमण गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूलाई महानगरले अनुरोध गरेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा सोमबार थापाथलीस्थित बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन महानगर टोली खटिएको थियो ।

सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा जस्ता धारिलो हतियार, ढुङ्गा, मुढासहितका सामाग्री लिएर उपस्थित भई आपराधिक मनसायले एक्कासि आक्रमण गरेको महानगरको भनाई छ ।