• बैशाख २७ २०८३, आईतवार

हेलिकोप्टरमा आएर ‘सागर गुल्मी गइसक्यो’ भन्दै देउवाले मेरो जित्ने माहोल बिगारिदिए : सागर ढकाल

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेलधुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति निकालेर ढकालले डडेलधुराका जनता भगवान सरह रहेको र उनीहरूको कुनै गल्ती नरहेको बताएका छन् ।

उनले भनेका छन्–‘उहाँहरूको गल्ती केही पनि छैन । मेरो मत १३ हजारभन्दा बढी आएको छ जुन निकै राम्रो हो । यसमा अहिले मैले सच्चिनु पर्ने मुख्य रूपमा नेता र प्रशासन देखेको छु । गगन वा प्रकाशमान सिंहले जत्तिको पनि आचारसंहिता मानेको भए ढुक्क मेरो २५ हजार मत आउँथ्यो शेरबहादुरको १३ हजार मत पैसा र मौन अवधिमा भ्रमको बेजोड खुलमखुल्ला चलखेल भयो । बजारमा यसको असर त केही पनि भएन तर डाँडाका गाउँमा अन्तिमको भ्रम सागर गुल्मी गइसक्यो भन्ने पत्याइदिनु भयो । डाँडाडाँडामा ४ महिना लगाएर निकै दुःख गरेर दाँतबाट पसिना बगाएर बनाएको माहौल ५–७ दिनको हेलिकप्टर, पैसा र भ्रमले उडाइदियो ।’

उनले गाउँका जनताको आर्थिक अवस्था कमजोर रहेका कारण पैसा बाढिएकाले पैसाको खोलो बगाउने नेताप्रति आक्रोश व्यक्त गरेका छन् । उनले गठबन्धन दल र प्रधानमन्त्री पदको खुलेआम नियम कानुनको धज्जी उडाउँदै पैसाको ओइरो लगाएको आरोप लगाएका छन् ।

उनले आफूले पाएको मत निकै शक्तिशाली मत रहेको बताउँदै अब दुई चार दिने हेलिकप्टरको हावाहुरीले जनतालाई केही पनि नहल्लाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।