काठमाडौं । सिरहा क्षेत्रनम्बर २ का स्वतन्त्र उम्मेदवार सुरेशकुमार कार्कीले काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गरेका छन् ।
कार्कीले आज निर्वाचन आयोगमा निवेदन दताई गराई काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जसपाका राजकिशोर यादवले चुनावमा रकम बाँड्नुको साथै भोजभतेर समेत गरेको भन्दै उनीहरूको उम्मेदवारी खारेजीको उनले माग गरेका हुन् ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजिम उनीहरुलाई कारबाही माग गरिएको हो । दुई उम्मेदवारले कात्तिक २५ गतेदेखि मङ्सिर ४ गते मतदान हुँदासम्म मतदातालाई प्रभाव पर्ने गरी घरघरमा गएर रकम बाँडेको भोजभतेर गरेको आरोप स्वतन्त्र उम्मेदवार कार्कीले लगाएका छन् । उनले ऐनको दफा २१ को उपदफा (२) बमोजिम हदैसम्मको सजाय गरी निजहरू दुवैको उम्मेदवारी खारेजीको माग गरेका छन् ।