• बैशाख २७ २०८३, आईतवार

आफ्ना कार्यकर्ताको मृत्युपछि एमालेले गर्यो साँफे-मार्तडी सडक अवरुद्ध

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । बाजुराका त्रिवेणी नगरपालिका–७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्युपछि अछामको साँफे–मार्तडी सडक खण्ड बन्द गराइएको छ । कांग्रेस कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका ऐडीको अछामको बलयपाटा अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युपछि एमाले निकट समर्थकहरूले उक्त सडक खण्ड बन्द गराएका हुन् । सडक अवरुद्ध गरेर दोषीमाथि कारवाहीको माग गरेका छन् । बाजुराको त्रिवेणी–७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विषयलाई लिएर कांग्रेस कार्यकर्ताले ऐडीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते बनेका उनको उपचारका लागि बलयपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिवेणी–७ मा दिउँसो मतदानको समयमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएको थियो । गोली लागेर कांग्रेसका स्थानीय कार्यकर्ता सञ्जिब ऐडीको मृत्यु भएको थियो । उनको मृत्युपछि कांग्रेस कार्यकर्ता उग्र बनेका थिए । सोही क्रममा उनीहरूले ऐडीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर बनेका उनलाई हेलिकप्टर मार्फत् उपचारका लागि लैजाने भनिएको थियो । तर, हेलिकप्टर आउन ढिलाई भएपछि उनलाई बलयपाटा अस्पताल लगिएको थियो । तर, अस्पतालमा पुर्याउँदै गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी घरमै रहेको अवस्थामा कांग्रेस कार्यकर्ताले तानेर लगेर कुटपिट गरेको आरोप लगाएका छन् ।