• जेष्ठ ५ २०८३, मंगलवार

राष्ट्रपति र उपराष्ट्रपतिबाट नेपाल संवत् ११४३ को शुभकामना व्यक्त

कार्तिक ९ २०७९, बुधबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गर्दै यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने बताएकी छन् ।

उनले राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुनः शुभकामना व्यक्त गरेको छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार–२०७९ तथा नेपाल संवत् ११४३ प्रारम्भको अवसरमा शुभकामना दिँदै उनले समृद्ध नेपाल निर्माणका लागि एकाकार भएर अगाडि बढ्न सम्पूर्ण नेपालीलाई विभिन्न पर्वले ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन्। विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उनले बताएका छन् ।

उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको बताए । उनले तिहार र नेपालको मौलिक संवत् नेपाल संवत्ले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।