• बैशाख २७ २०८३, आईतवार

भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : राई

कार्तिक ५ २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफू बहस गर्न चुनौती दिएका छन् ।

आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झूठा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताए ।

‘कसैले भनिरहेका छन् कि राईले भ्रष्टाचार गरिरहेको छ, झूठा बाचाहरू गरिरहेको छ । तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, वीपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु’ उनले भने ‘कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ । तपाईंहरूसँग मेरा विरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु । प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु ।’

तत्कालीन मेयर धवल शमशेर राणाले आफूलाई खुबै सदाचारी बनाउन खोजे पनि उनको भ्रष्टाचारका कर्तुत एकपछि अर्को सार्वजनिक भइरहेको आरोप लगाए । उनले भने, ‘अख्तियारले नै जसमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरिरहेको छ । जसका विरुद्ध ३–३ वटा उजुरी परेका छन् । उसले नै सदाचारको कुरा गर्न सुहाउँदैन ।’