• बैशाख २७ २०८३, आईतवार

ठूला पार्टीहरुले मधेशी जनताको शोषण गरिरहेका छन्  : उपेन्द्र यादव

कार्तिक ३ २०७९, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले मात्र मधेसी जनताको मुक्ति दिलाउने बताएका छन् । सप्तरीको महदेबा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेशी जनतालाई शोषण गर्दै आएको बताए ।

शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरु अझैं संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने–‘काँग्रेस लगायतका ठूला भनाउँदा पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएका छन्, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको हो ।’

पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफूहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन तथा विभेदमा पारिएका समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे ।

अबको वैकल्पिक शक्तिको रुपमा जसपा मात्र रहेकोले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उनले विश्वास व्यक्त गरे । विकास सम्बन्धी मानवीय सूचकाङ्क अनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै अध्यक्ष यादवले भने– ‘सप्तरी मेरो जन्मभूमि हो, यहीँको माटोमा जन्में, हुर्कें र विद्यालय शिक्षा पनि यहीँ प्राप्त गरें, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएँ ।’

आफूले सप्तरीमा नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण लगायतका कामहरु गरेको जानकारी गराउँदै उनले भने–‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ, जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ? सचेत जनता भ्रमको खेती गर्नेहरूमाथि विश्वास गर्दैन ।’