• जेष्ठ १३ २०८३, बुधबार

देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना र विभिन्न विपद्का घटना : एकै दिन १३ जनाको मृत्यु

कार्तिक ३ २०७९, बिहीबार

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना र विभिन्न घटनामा परि एकै दिन १३ जनाले ज्यान गुमाएका छन् । गत मंगलबार दुर्घटना र विभिन्न घटनामा परि उनीहरूको ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रहरीका अनुसार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–४ चाप्लिङ खोल्सामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । प्रदेश नम्बर २–०३–००१ त ५६५५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्दा ट्याक्टरमा सवार मैवाखोला गाउँपालिका–५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पासहित ४ जनाको घटनास्थलमै ज्यान गएको हो ।

त्यसैगरी रौतहट, फतुवा विजयपुर नगरपालिका–११ हिमालीबास नजिकै बसले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको छ । ना.३ ख २४४९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया गौरी मैनालीको मंगलबार दिउँसो ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका–५ मैनाहास्थित जंगलमा मोटरसाइकल र गाडा आपसमा ठोकिदा मोटरसाइकल चालकको ज्यान गएको छ । सु.प.प्र.०१–०११ प २४३२ नम्बरको मोटरसाइकल गाडामा ठोक्किर मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक लालझाडी गाउँपालिका–३ बल्मी बस्ने ३० वर्षीय रमेश रानाको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही, बरहथवा नगरपालिका–४ समनपुर पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ना.५६ प ८९०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २९ वर्षीय भाग नारायण यादवको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरी, रामधुनी नगरपालिका–५ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । को.३६ प ५५५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ४० वर्षीय अनिल चौधरीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दैलेखमा करेन्ट लागेर एक जना बालिकाको ज्यान गएको छ । गुराँस गाउँपालिका–४ बस्ने डिल बहादुर नेपालीकी १३ वर्षीया छोरी दिपिका परियारको करेन्ट लागेर मंगलबार साँझ ज्यान गएको हो । फुपुको घर जाने क्रममा सोही गाउँपालिका–२ गयलसेनस्थित सडकमा लत्रिएको बिजुलीको तार छुदा करेन्ट लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

उदयपुरमा पोखरीमा डुबेर एक जना बृद्धको ज्यान गएको छ । त्रियुगा नगरपालिका–६ स्थित रानीपोखरीमा डुबेर सोही नगरपालिका–५ श्रीपुर बस्ने ६० वर्षीया दैया परियारको मंगलबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा पनि पोखरीम डुबेर एक जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१६ नरैनापुर बस्ने ५० वर्षीय वासुदेव डंगोरियाको सोही ठाउँस्थित माछापोखरीमा डुबेर मंगलबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

रामेछापमा एक महिलाको मृत शव फेला परेको छ । खाँडादेवी गाउँपालिका–३ डप्कास्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा पनि एक बृद्धा महिलाको मृत शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती नदीको बगरमा नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यी सबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको बताएको छ ।