• जेष्ठ ५ २०८३, मंगलवार

कुलेश्वरबाट म्याद नाघेको २ हजार किलो तिल बरामद

कार्तिक १ २०७९, मंगलवार

काठमाडौं । काठमाडौंको कुलेश्वरबाट उपभोग्य मिति नाघेको २ हजार किलो खैरो तिल बरामद भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा मसला बिक्री गर्ने फर्ममा शंकास्पद अवस्थामा उक्त परिमाणको तिल भेटिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।

‘मसला बिक्री गर्ने कुलेश्वरको फर्मले उक्त परिमाणमा म्याद नाघेको तिल राखेको पाइयो,’ महानिर्देशक भट्टराईले भने, ‘यो बरामद नभएको भए बजारमा जान सक्ने अवस्था थियो ।’
फर्मको अन्य वस्तुहरु समेत शंकास्पद भएपछि प्रयोगशाला परीक्षणका लागि पठाइएको छ । फर्ममाथिको अनुसन्धान अझै जारी छ । बरामद भएको तिलको हालको बजार मूल्य ८ लाख रुपैयाँ हाराहारी छ ।

विभागका सूचना अधिकारी होमनाथ भट्टराईकाअनुसार कुलेश्वरको अभिशेष ट्रेडिङमा उक्त परिमाणको तिल भेटिएको हो । भारतबाट आयात गरिएको उक्त तिलको बोरामा उपभोग्य मिति सकिएको पाइएको छ । बरामद ४१ बोरा तिललाई नष्ट गरिएको भट्टराईले बताए ।