काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको बताएका छन् । नेकपा एमालेको चुनाव चिह्नबाट थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।
सोमाबार हेटौंडा-५ र ६ मा भएको कार्यक्रममा बोल्दै थापाले एमालेको तर्फबाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउँदा गर्व महसुस भएको बताए ।
उनले एमालेसँगको सहकार्य चुनाव जित्ने मात्र नभइ देशको आवश्यकताका कारण भएको स्पष्ट पारे । थापाले बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाँचो रहेको औल्याए ।
थापाले देशभित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको र राष्ट्रवादी शक्ति कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए ।