काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र काँग्रेसको गठबन्धन प्राकृतिक गठबन्धन भएको बताएका छन् ।
गोरखा सदरमुकामस्थित काँग्रेस पार्टी कार्यालयमा शनिबार आयोजित परिचयात्मक तथा अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले वाम गठबन्धनबाट सिकेर काँग्रेससँग गठबन्धन गरेको बताए ।
‘हामीले राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरियो । विकास र समृद्धि गर्ने भनेर पार्टी एकता गरियो, तर तीन वर्ष नपुग्दै भताभुङ्ग भयो,’ उनले भने, ‘उल्टै पार्टीभित्रैबाट निरङ्कुशता, छलकपट, बेइमानी देखियो । त्यसैले काँग्रेस, माओवादी र अन्य लोकतन्त्रवादी पार्टी र वामपन्थी पार्टीको गठबन्धन नै प्राकृतिक गठबन्धन हो ।’
एमालेसँगको गठबन्धनबाट आफूले ज्ञान प्राप्त गरेको उनले बताए । ‘यसअघिको गठबन्धनबाट मैले ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान अब यो गठबन्धनलाई काम लाग्छ, अहिले काम लागिरहेको छ,’ उनले भने । देशको संविधान, लोकतन्त्र रक्षा र राजनीतिक स्थायित्व र समृद्धिका निम्ति सत्तारूढ गठबन्धन निर्माण भएको उनले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भइसकेपछि हामीले निकै ठुलो उपलब्धिका रूपमा आत्मसात् पनि गर्यौँ । तर, त्यो संविधान घोषणा भएको केही वर्ष नबित्दै त्यही संविधानमाथि प्रहार भयो,’ उनले भने । प्रचण्डले अझै पनि हँसिया–हथौडा र रूखमा भोट हाल्न हात काम्ने कार्यकर्ताले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको महत्त्व नबुझेको बताए ।