• बैशाख २७ २०८३, आईतवार

जनतालाई मालिक बनाउने गरी काम गर्छौं – रामचन्द्र पौडेल

आश्विन २९ २०७९, शनिबार

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताएका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए ।

सहिदको बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हावी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उनको भनाइ थियो । “मेरो अन्तिम इच्छा भनेको मैले गरेका अधुरा काम पूरा गर्नु छ, तपाईँहरूसँग मलाई एकपटक विजयी गराउन आग्रह गर्छु ।” नेता पौडेलले गाउँमा विकास र रोजगारी सिर्जना गर्न जनतालाई मालिक बनाउने बताए । “विदेशिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ”, उनले भने ।

गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हरिबहादुर चुमानले गठबन्धन सत्ता, पद, निर्वाचनका लागि मात्रै नभई राष्ट्रियतासँग जोडिएको बताए । देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उनले बताए ।