• जेष्ठ १३ २०८३, बुधबार

मनसुनजन्य विपद्का घटना : ११३ को मृत्यु, ३७ बेपत्ता, १९३ घाइते, ६४३ परिवार प्रभावित

आश्विन २९ २०७९, शनिबार

काठमाडौं । एक वर्षको अवधिमा मनसुनजन्य घटनामा परी एक सय १३ को मृत्यु, ३७ बेपत्ता, एक सय ९३ जना घाइते र छ सय ४३ घरपरिवार पत्यक्ष प्रभावित भएका छन् । उनीहरू बाढी–पहिरो, चट्याङ र सडक सवारी दुर्घटनामा परी मृत्यु हुनुका साथै विभिन्न घटनाबाट प्रभावित भएका हुन् ।

यो वर्षको मनसुन गत जेठ २२ गतेबाट सुरु भएयता ठूलो जनधनको क्षति भएको छ । त्यस्तै गत वर्षको भदौ २७ गते मनसुन सुरु भएको बिहीबार एक सय दिन पूरा भएको छ । यस अवधिमा अविरल वर्षाका कारण बाढी, पहिरो र चट्याङ्गमा परी पाँच सय १२ वटा घटना घटेका छन् ।

यी घटनामा एकसय सात जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । एक सय ९३ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का घटनाबाट उक्त समयमा छ सय ४३ घरपरिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

चट्याङ्गबाट सबैभन्दा बढी अर्थात् ४६ जनाको मृत्यु भएको छ भने एक सय ३० जना घाइते भएका छन् । पहिरोमा परी २७ जनाको मृत्यु र ३४ जना घाइते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । हालसम्म ११ जना वेपत्ता छन् ।

भारी वर्षाका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सर्पदंशको टोकाईबाट १५ जनाको ज्यान गएको छ भने २ जना घाइते भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाँच प्रकारको विपद् घटनाबाट मनसुन सुरु भएपछिको एक सय दिनमा ४९ जिल्लाले ठूलो मानवीय क्षति व्यहोरेको छ । सो अवधिमा ५ हजार चार सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अघिल्लो वर्ष २०७८ सालमा मनसुन सुरु भएपछिको एक सय दिन (२०७८ जेठ २८–असोज २०)मा सात १७ वटा मनसुनजन्य विपद्का घटना घटेका थिए । ती घटनामा एक ७४ जनाको ज्यान गएको थियो भने ३७ जना बेपत्ता र एक सय ८१ जना घाइते भएका थिए ।

त्यस्तै शुक्रबार मात्रै दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पर्सा वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकमा ना.३ ख ५७४३ नम्बरको लहरीको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । पोखरिया नगरपालिका–१ कन्कटुवा बस्ने ५० वर्षीय भिगा रामको शुक्रबार बिहान लहरीको ठक्करबाट मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । लहरी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–१४ नैकाप आदर्श टोलस्थित निर्माणाधिन घरमा मिस्त्री काम गर्ने ३८ वर्षीय राजु श्रेष्ठ सोही ठाउँस्थित शौचालयभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–१० कपन शिवमन्दिर नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, प्युठान गौमुखी गाउँपालिका–५ घर भई सिद्धार्थनगर नगरपालिका–३ डेरा गरी बस्ने ४० वर्षीय खुमनसिंह पाण्डे आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका–१२ बिजयनगर बस्ने ३८ वर्षीया फुलमाया बिक आफ्नै घर नजिकको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

सिरहा, सुखिपुर नगरपालिका–६ खरिटोल बस्ने २५ वर्षीया मन्जुराम आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।