काठमाडौं । २०४६ सालको जनआन्दोलनयता सत्ता र शक्तिको भोगचलन गर्दै आएका पुराना नेताहरू आगामी निर्वाचनमा पनि भिड्ने भएका छन् । केही वर्षयता वा भर्खरै गठन भएका साना दल र युवा पुस्ताको भूमिका कमजोर हुनुले उनै नेताहरू निर्वाचनमा भिड्ने भएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत अन्य पार्टीका शीर्ष नेताहरू मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुनः भिड्ने भएका हुन् ।
पटक–पटक उनै नेता निर्वाचनमा भिड्नु, सत्ता र शक्तिमा पनि उनीहरूकै हालीमुहाली हुनुले साना दल र राजनीतिमा संलग्न युवाहरूको सर्वत्र आलोचना हुँदै आएको छ । विक्रम सम्बत २०४६ चैत २६ गते पञ्चायती व्यवस्थाको अवसान भएयता देशमा ६ वटा संसदीय निर्वाचन भइसकेका छन् । दुई पटक संविधानसभाको निर्वाचन भएको थियो । यी निर्वाचनमा पनि देउवा, ओली, प्रचण्ड, नेपाल र खनाल लगायतका दलका थुप्रै शीर्ष नेताहरू भिडेका थिए ।
यद्यपि देशमा भएका अधिकांश निर्वाचनमा भिड्नेमध्ये कांग्रेस नेताहरूको नाम अग्र स्थानमा आउँछ । यीमध्ये कांग्रेसका सभापति देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजय कुमार गच्छेदार, अर्जुन नरसिंह केसी, बलबहादुर केसी लगायत नेताहरू रहेका छन् । विक्रम सम्वत २०४८ सालयता उनीहरू नै निरन्तर चुनावी मैदानमा छन् ।
त्यस्तै एमालेका अध्यक्ष ओली, एकीकृत समाजवदीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चा (राजमों)का अध्यक्ष चित्रबहादुर केसी समेतले हालसम्म चुनावी मैदान छोडेका छैनन् ।
मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले डडेल्धुराबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले २०४८ सालयता निरन्तर चुनाव जित्दै पनि आएका छन् ।
डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका देउवा २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचत भएका थिए । २०४८ सालको आम निर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको आम निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए । त्यस्तै २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचन, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा उनले लगातार जित्दै आएका छन् ।
देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसयता उनी २०५८, २०६१, २०७४ सालमा गरी चौथो पटक प्रधानमन्त्री भएका थिए । २०७२ यता देउवा निरन्तर कांग्रेस सभापतिमा समेत निर्वाचित हुँदै आएका छन् ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । ओलीले यस पटकको निर्वाचनमा एमाले–राप्रपासँग चुनावी तालमेल गरेर चुनाव भिड्दै छन् । उनी २०४८, २०५१ सालको मध्यावधि र २०५६ सालमा झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । २०७० सालमा झापा निर्वाचन क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य र २०७४ मा सोही क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए । उनी दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।
कांग्रेसका नेता रामचन्द्र पौडेल पनि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । २०५२ साल र २०५६ सालका निर्वाचनमा तनहुँ क्षेत्र नम्बर।२ बाट विजयी भएका्र पौडेल २०६४ सालको संविधानसभाको निर्वाच यता तनहुँ क्षेत्र नम्बर। १ बाट निरन्तर चुनाव भिड्दै आएका छन् ।
२०७४ मा तत्कालीन एमाले नेता किशन श्रेष्ठसँग चुनाव हारेका पौडेल यस पटक गठबन्धनको तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २०४८ सालदेखि २०७४ सालसम्मका ६ पटक निर्वाचन लडेका कांग्रेस नेता विजय कुमार गच्छेदारले यस पटक पनि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
२०४८, २०५१, २०५६ र २०७४ सालमा चारवटा निर्वाचन कांग्रेस, २०६४ सालमा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट एक पटक गरी ६ पटक गच्छेदारले चुनाव जितिसकेका छन् । लगातार चुनाव जित्दै आएका गच्छेदार २०४८ सालदेखि २०७४ सालसम्म गरी १८ पटक मन्त्री बनिसकेका छन् ।
कांग्रेसकै अर्का नेता अर्जुननरसिह केसीले केसीले २०३८ सालको राष्ट्रिय पञ्चायत चुनावमै स्वतन्त्र प्रतिस्पर्धा गरेर विजयी भएका थिए । उनी २०४८ सालयता निरन्तर चुनावी प्रतिष्पर्धामा छन् भने आगामी निर्वाचनमा पनि उनले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ सालदेखि निरन्तर ३ वटा निर्वाचनमा विजयी भएका छन् । प्रचण्डले चौथो पटक गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनी दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।
२०४८ देखि नै निरन्तर चुनाव लड्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । एमालेको १६ वर्षसम्म महासचिव बनेर पार्टीको नेतृत्व गरेका नेपाल पूर्वप्रधानमन्त्री समेत हुन् । उनले एक वर्षअघि मात्रै एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् ।
त्यस्तै सम्मानित नेता झलनाथ खनालले इलाम निर्वाचन क्षेत्र नम्बर. १ बाट उम्मेदारी मनोनयन गराएका छन् । उनी २०४८ सालदेखि २०७४ सालसम्म निरन्तर चुनावी मैदानमा छन् । उनी पनि एक पटक प्रधानमन्त्री भइसकेको छन् ।