• जेष्ठ ४ २०८३, सोमबार

क्लबका बाउन्सरमाथी खुकुरी प्रहार गर्ने ८ जना पक्राउ, यस्तो थियो झडपको कारण

आश्विन २७ २०७९, बिहीबार

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार घटना मंगलबार बिहान सवा ५ बजेको हो । काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, इटा, बियरका बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको थियो ।

घाइते हुनेमा क्लबका बाउन्सर नितेश राई र छिरिङ लामा छन् । उनीहरूको टाउको, गोडा लगायत विभिन्न शरीरमा चोट लागेको थियो । अहिले उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एसएसपी भरत बोहराका अनुसार उनीहरूको स्वास्थ्यमा सुधार आएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा छन् ।

यस्तै, प्रहरीले मोटरसाइकल भाडामा दिने व्यक्तिलाई पनि पक्राउ गरेको छ । चाबहिल बस्ने २६ वर्षीय करण डंगोल पनि पक्राउ परेका छन् । उनलाई यस घटनाबारे जानकारी भए/नभएकोबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ती दुई बाउन्सर आफ्नो काम सकेर मंगलबार बिहान गल्कोपाखास्थित डेरामा फर्किंदै थिए । त्यही बेला उनीहरूलाई दोर्जे लामा लगायतको समूहले चार वटा मोटरसाइकलमा पछ्यायो । बाउन्सरहरू कोठा नजिकै पुगेपछि एक्कासी आक्रमण गरेको एसएसपी बोहराले जानकारी दिए । कुटपिट गरेर फरार भएको खबर पाएपछि प्रहरीले बाउन्सरको उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।
उक्त समूहले ती बाउन्सरको हत्या नै गर्ने योजना बनाएर पिछा गरेका थिए । यस घटनामा परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त लैनचौरबाट टोली परिचालन गरिएको थियो ।

प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी कार्यालय दोलखा समेतको सहयोगमा आरोपीहरूलाई पक्राउ गरिएको एसएसपी बोहराले बताए ।

प्रहरीले घटनामा प्रयोग भएका तीन वटा खुकुरी, घटनास्थलमा फेला परेका इटा र दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ ।
एसएसपी बोहराका अनुसार यो घटना रिसिइबीका साँध्न भएको खुलेको छ । यो घटना हुनुअघि भदौ २२ गते राति क्लब प्लाटिनममा दुई पक्षबीच झडप भएको थियो । जसमा ६ जना घाइते समेत भएका थिए ।

‘त्यतिबेला पाटी गर्दागर्दै दुई पक्षबीच झडप भएको थियो । बाउन्सरले छुटाउन खोज्दा उनीहरूलाई पनि हिर्काए । फेरि बाउन्सरले पनि उनीहरूलाई हिर्काएका थिए । त्यतिबेला भएको झडपको रिसिइबी साँध्नलाई उनीहरूले बाउन्सरको हत्या गर्ने प्रयास गरेको देखियो,’ एसएसपी बोहराले भने ।

यस घटनामा मुख्य योजनाकार दोर्जे हुन् । बाइक मिलाउनेदेखि कुटपिट गर्ने व्यवस्था मिलाउने समेतको काम उनैले गरेको बोहराले बताए ।
‘योजना सबै उनले बनाए पनि उनी घटनास्थलमा पुगेका थिए/थिएनन् भन्ने बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

उनीहरूमध्ये एकजना त पहिले १० वर्ष जेल बसेर आएको समेत खुलेको छ । दीपेन लामा डाँका मुद्दामा १० वर्ष जेल बसेर तीन वर्षअघिमात्रै जेलबाट छुटेका व्यक्ति हुन् ।

पक्राउ परेका उनीहरूमाथि ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको छ ।