काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले संसदीय चुनाव चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ । चुनाव चुनौतीपूर्ण रहेपनि बहुमत ल्याउने गरी अघि बढ्नुको विकल्प नरहेको अध्यक्ष केपी ओलीले बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदीय चुनावमार्फत् सरकारबाट कांग्रेसको नेतृत्वलाई बिदाइ गर्ने गरी अघि बढ्नु पर्ने धारणा राखेका हुन् ।
जनतामाझ जाँदा कांग्रेस नेतृत्वको सरकारले मुलुकमा बर्बादी गरेको विषयलाई प्रमुख एजेन्डा बनाउनु पर्ने ओलीले बताए ।
‘कांग्रेसको नेतृत्वमा बनेको सरकारले मुलुकलाई बर्बादीको बाटोमा अघि बढाएको छ । एमालेको बहुमतबिना मुलुकको हित नहुने कुरा हामीले जनतालाई बुझाउनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले सचिव युवराज ज्ञवालीले भने ।
ओलीले एमालेको बहुमत ल्याउने गरी आन्तरिक तयारीमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । यसका निम्ति पार्टी प्रवेश अभियानलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ । ‘हामीले अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरौं । बहुमत ल्याउने गरी आन्तरिक तयारी गरौं । पार्टीमा आउनेहरूलाई स्वागत गर्दै प्रवेश अभियानलाई तीव्रता दिऔं । एमालेको बहुमतबिना मुलुकको समृद्धि सम्भव छैन भन्ने कुरा जनतालाई बुझाऔं,’ बैठकमा ओलीले भनेका छन् ।
सत्ता गठबन्धनको निरन्तरता हुने भएपछि एमाले दबाबमा छ । सचिवालय बैठकमा ओलीले चुनाव चुनौतीपूर्ण रहेको बताएका छन् ।
‘यो चुनाव निकै चुनौतीपूर्ण हामीले जसरी पनि जित्नुपर्छ,’ओलीको भनाई उदृत गर्दै ज्ञवालीले भने ।
एमालेको सचिवालय बैठकले चुनाव केन्द्रित अभियानका निम्ति अध्यक्ष ओलीकै नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यस कमिटीले निर्वाचन अभियानमा कहाँ कसलाई खटाउने भन्ने निर्णय लिनेछ ।
निर्वाचन परिचालन कमिटीमा परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् । परिचालन कमिटीमा जनसंगठनका अध्यक्ष र महासचिवसहित केन्द्रीय विभागका सचिव रहने छन् ।
एमालेले चुनावी रणनीति तयारका निम्ति केन्द्रीय कमिटी बैठक पनि बोलाउने भएको छ । सचिवालय बैठकले भदौको ७, ९, १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
यस्तै, सचिवालय बैठकको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।