• जेष्ठ २ २०८३, शनिबार

श्रीमती र सासूलाई आगो लगाइ फरार शंकर पाँच दिनपछि समातिए

श्रावण २६ २०७९, बिहीबार

जनकपुरधाम । श्रीमती र  सासूको शरीरमा आगो लगाइ फरार रहेका महोत्तरी औरही नगरपालिका–८ टिमकियाका शंकर सदा पक्राउ परेका छन् । महोत्तरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी भंगहा नगरपालिका–९ कञ्चनवनकी ६५ वर्षीया रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदाको शरीरमा आगो लगाउने शंकरलाई सार्वजनिक गरेको हो ।

शंकरले शनिबार राति मट्टीतेल खन्याएर श्रीमती प्रमिला र  सासू रेसमाको शरीरमा आगो लगाइ उनी फरार भएका थिए ।
पाँच दिनपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल–भारत सीमा सम्सीबाट पक्राउ गरेको हो ।

श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको कारण आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही आरोप लगाउँदै शंकरले पटक पटक झगडा गर्ने र कुटपिट गर्ने गरेका थिए ।

आगो लागेर घाइते भएकी दुवैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

आगोले रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । प्रमिलाको शरीरको ९० प्रतिशत भाग जलेको बताइएको छ । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

आगोले जलेर गम्भीर घाइते भएकी रेसमा ०७४ को स्थानीय निर्वाचनमा सोही वडामा दलित महिला वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् । प्रमिलाका तीन छोरा छन् ।