• जेष्ठ २ २०८३, शनिबार

भक्तपुरमा एक दिन अगाडि नै मनाइयो जनैपूर्णिमा,यस्तो छ कारण

श्रावण २६ २०७९, बिहीबार

काठमाडौं। भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ त्यही दिन नागरिकले पनि चाडपर्व मनाउने प्रचलन छ ।तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवम् पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ ।

त्यहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो ।आज (बिहीवार)जनैपूर्णिमा मनाइएको छ भने भोलि गाईजात्रा मनाउने जनाएको हो ।

भक्तपुरमा आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाइने गरिन्छ। आज बिहानैदेखि पुरोहितसँग रक्षा बन्धन र नयाँ जनै लगाउने परम्परा छ । जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँध्दा नकारात्मक तत्वबाट सुरक्षा प्रदान हुने विश्वास छ।