• जेष्ठ ११ २०८३, सोमबार

एम्बुलेन्स, स्कुल बस ट्राफिकको निगरानीमा, आरक्षण सिटको कार्यान्वयन नगर्ने सार्वजनिक यातायात कारबाहीमा

श्रावण २५ २०७९, बुधबार

कठमाडौं । पछिल्लो केही दिनयता सडकमा गुड्ने सार्वजनिक र निजी यातायातका सवारी साधानहरूमाथि ट्राफिक प्रहरीले उच्च निगरानी गर्दै आएको छ । साउन १८ गतेदेखि यस अभियानलाई तीव्रता दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जनाएको छ ।

उक्त कार्यालयका अनुसार ट्राफिक प्रहरीले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा गुड्ने निजी र सार्वजनिक सवारी साधनमाथि उच्च निगरानी गर्दै आएको हो । विशेष गरी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सडकमा गुड्ने सवारीका लागि निगरानी गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट बताए ।

काठमाडौं उपत्यकाका तीन जिल्ला मात्रै नभएर देशका विभिन्न ठाउँमा गुड्ने सार्वजनिक सवारी साधनहरू, एम्बुलेन्स, स्कुल बस, पानी बोक्ने ट्यांकर, सञ्चार माध्यमहरूले प्रयोग गर्ने प्रेसका सवारी साधन समेतलाई निगरानीमा राखिएको छ ।

विशेष गरी मानिसको संवेदनशीलतासँग जोडिएका सवारी साधनहरू एम्बुलेन्स, स्कुल बसमा पछिल्लो समय अवैध गतिविधि भएकाले निगरानी गर्नु परेको प्रवक्ता भट्ट बताउँछन् । केही वर्षअघि एम्बुलेन्समार्फत लागूर्आैषध, मदिरा ओसार–पसार गरेको पाइएकोले ट्राफिक प्रहरीले चेक–जाँचलाई तीव्रता दिएको छ ।

एम्बुलेन्स विरामी ओसार–पसार गर्ने सवारी साधन भए पनि अन्य अवैध कार्यमा दुरुपयोग भएकाले चेक–जाँचलाई तीव्रता दिएको हो । यसलाई निर्मूल पार्न ट्राफिकले उच्च निगरानीमा राखेको बताइएको छ । नम्बर प्लेट नराखी चलाएको केही एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै स्कुल बस जस्तो निकै संवेदनशील सवारी साधनमा सवार विद्यार्थीहरूको सुरक्षित यात्राका लागि निगरानी गरिएको छ । काठमाडौं उपत्यका भित्रका सडकमा गुड्ने स्कुल बसका चालकले मादक पदार्थ सेवन गरेको गुनासो आएपछि प्रहरीले निगरानीमा राखेको हो ।

त्यसयता मादक पदार्थ सेवन गरेको नपाइएको प्रहरी बताउँछ । यसका लागि प्रहरी प्रशासन मात्रै नभएर विदार्थी, अभिभावक, स्कुल प्रशासन चनाखो रहनुपर्ने प्रहरी बताउँछ । उसले आफूले मात्रै निगरानी गरेर नहुने भएकाले सबै चनाखो रहन आग्रह समेत गरिएको छ ।

त्यसैगरी खानेपानी, लुगाधुने, घर निर्माणमा प्रयोग हुने पानी ओसार–पसार गर्ने ट्यांकरलाई पनि उच्च निगरानीमा राखिएको छ । प्रहरीका अनुसार ट्यांकरका चालकले मादक पदार्थ सेवन गरी जथाभावी चलाएको पाइएकाले निगरानी गर्नु परेको हो । यो अभियान सुरु गरेयता केही ट्यांकरका चालक कारबाहीमा परेका थिगए । त्यसयता त्यस्तो घटना नदोहोरिएको प्रहरीले बताएको छ ।

केही वर्षयता उपत्यकाका सडकमा गुड्ने सञ्चार माध्यमका सवारी साधनलाई पनि निगरानीमा राखिएको छ । बिना लाइसेन्स, बिना हेलमेट सञ्चाकर्मीले नै सवारी साधन चलाएको पाइएकोले कारबाही गरिएको प्रहरी बताउँछ । यसरी सवारी सडक नियम उल्लंघन गर्ने केही सञ्चारकर्मीलाई कारबाही गरिएको छ ।

राज्यले केही वर्षयता सार्वजनिक यातायातमा पनि आरक्षण सिटको व्यवस्था गरेको छ । साही बमोजिक कार्यान्वयन पनि गरिएको छ । तर, केही सवारी साधनमा महिला, जेष्ठ नागरिक, अशहरूको सिटमा अन्य यात्रुलाई राखेको पाइएकोले चालकलाई कारबाही गरेको प्रहरी जनाएको छ ।

महिला, अशक्त तथा जेष्ठ नागरीक भनी छुट्याइएका आरक्षण सिटको कार्यान्वयन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले विशेष अनुगमन टोलीनै बनाएर काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा चेक गरी कारबाही गर्दै आएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने सवारी चालकलाई कारवाही गरेको हो । काठमाडौँ उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारबाही गरिएको छ ।

मादक पदार्थ सेवन गर्ने, हेलमेट, सिटबेल्ट प्रयोग नगर्ने, लाइसेन्सबिना सवारी साधन चलाउने, आरक्षण सिटको कार्यान्वयन नगर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए ।