• बैशाख २६ २०८३, शनिबार

रेणुका साहको मुद्दाको आइतबार पनि सुनुवाइ भएन

श्रावण २२ २०७९, आईतवार

काठमाडौं । न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशबाट बर्खास्त गरिएकी रेणुका साहले दायर गरेको मुद्दा आइतबार पेशीमा चढेपनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश नकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा ‘बेन्च बस्न नभ्याइएको’ भनेर स्थगित भएको हो ।

सुवेदीको एकल इजलासमा परेका सबै मुद्दा हेरिएन भने संयुक्त इजलास मात्रै बस्यो । बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको थियो । साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत साहमाथि शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएको आरोप छ । २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गरेको थियो ।

तर, बर्खास्तमा परेकी साहले भने आफूमाथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रतिशोध साँधेको आरोप लगाउँदै आएकी छन् ।सबै प्रक्रिया पुर्याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानूनमन्त्री कोइरालाले आफ्ना पिता एवं पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँगको प्रतिशोध आफूमाथि साँधेको उनको दाबी छ ।

कानूनमन्त्री कोइराला संविधान र कानूनभन्दा पनि माथि गएर निर्णय गरिरहेको उनको आरोप छ । असार २४ गते बसेको न्यायपरिषद बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।