• बैशाख २६ २०८३, शनिबार

नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीबीच पार्टी एकता हुँदै

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टी एकताको नजिक पुगेका छन् । उनीहरुले पार्टी एकता प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समितिसमेत गठन गरेका छन् ।
शुक्रबार नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले संयुक्त प्रेस विज्ञप्तिमार्फत् यस्तो जानकारी दिएका छन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत पार्टी एकता प्रक्रियामा सामेल हुन हार्दिक आह्वान् गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुवै नेतृत्व सहित वार्ता टोलीहरूका बीच संयुक्त बैठक बस्यो । ब्यापक छलफल पछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निणर्य गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको छ । यस अवसरमा हामी  सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।’

यी दुई पार्टीका बीचमा भएका छलफलहरुमा नीतिगत आधारभूत कुराहरू मिल्दै गएको स्रोतले जनाएको छ । वार्ता टोलीको १९ गतेको बैठकमा दुई पार्टीका प्रमुखहरूसहितको छलफलबाट पार्टी एकता संयोजन समिति बनाउने निणर्य गरिएको थियो । साथै बाहिर छरिएर रहेका क्रान्तिकारी पार्टी, सङ्गठन/मोर्चा र व्यक्तिहरूलाई पनि यो एकता अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

नेपालमा रहेका विभिन्न नामका कम्युनिस्ट पार्टीहरूको ठूलो हिस्सा संसदीय व्यवस्थामा आत्मसमर्पण गरेकाले जनतामा उत्पन्न भएको निरासा र अविश्वासलाई यी पार्टीहरूबीच एकता हुने सन्देशले विश्वास र आशा जगाइदिने अपेक्षा राखिएको छ भने, जवरजस्त क्रान्तिकारी ध्रुवको निर्माण हुने र वैकल्पिक राजनीतिक शक्ति निर्माण हुने सम्भावना बढेर गएको विश्लेषण गरिएको छ ।

क्रान्तिकारी माओवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छ भने विप्लवले गत स्थानीय निर्वाचनमार्फत् हालकै संसदीय व्यवस्थालाई स्वीकारीसकेको भन्दै केही समयअघि विप्लव नेकपाबाट अलग भई धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) नामको पार्टी पुनरगठन भएपछि क्रान्तिकारी माओवादीबीच एकताका लागि छलफल चलिरहेको थियो ।