काठमाडौं । गृहमन्त्रालयसँग गरेको ५ बुदे सहमति कार्यान्वयन नभएको भन्दै कुमारी आमा निहारीका राजपुतले पुन: आमरण अनसन बस्ने घोषणा गरेकी छिन्।
महोत्तरीकी निहारीकाले बसन्तपुरमा न्यायको माग गर्दै बच्चासहित गत जेठ २७ गते आमरण अनसन सुरु गरेर असार २७ गते अनसन तोडेकी थिइन् ।
गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनसन तोडेपनि आजसम्म कुनै पनि मागका बुँदा कार्यान्वयन नभएको गुनासो गरेकी छन् । उनले भनिन्–‘म सँग सरकारले गरेका सहमति एउटा पनि कार्यान्वयन गरेको छैन्, मन्त्रालयले मलाई झुटो आश्वासन दिएर अनसन तोड्न लगायो, भोलिदेखि सिंहदरबार अगाडी बच्चा लिएर आमरण अनसन फेरी सुरु गर्दैछु । कि त कुमारी आमालाई गरि खान दिन पर्यो कि त सरकारले मारिदिओस् । जतिपनि कुमारी आमाहरु छन्, उनीहरुले आफ्नो बच्चाको न्याय माग्न जाँदा मर्नैपर्छ भने मर्न दिनुस् कि त न्याय चाहियो ।’
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राजपुतले आफ्नो माग पुरा नभएसम्म अनसन नतोड्ने चेतावनी समेत दिएकी छिन् ।
पीडक शिवराम श्रेष्ठ र निहारीकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृहमन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृहमन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पुर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्नेलगायतमा राजपुत र सरकारबीच सहमति भएको थियो ।