काठमाडौं । रुपन्देहीमा एक महिलाले श्रीमानले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले आफ्नै श्रीमान मोहन चौधरीबाट आफू बिरामी भएको समयमा पटक-पटक जबरजस्ती करणी र शारीरिक हिंसा गरेकाे भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन्।
उनले आफूमाथि भएकाे हिंसामा जनप्रतिनिधी समेत रहेकी सासु र ससुराले समेत श्रीमानकाे संरक्षण गरेकाे आराेप लगाएकी छन् । महिलाको बयानकाे आधारमा जाहेरी दर्ता भइसकेको र कानुनी प्रक्रियामा अगाडि बढ्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए।
उनले प्रहरी समक्ष दिएको उजुरीका अनुसार गत साउन १४ गते राति उनका श्रीमान मोहनले मदिरा पिएर कुटपिट गरेका थिए ।
साउन १५ गते बिहान उनले इलाका प्रहरी कार्यालय मंगलापुरमा पुगेर उजुरी दिएकी थिइन्। प्रहरी कहाँ उजुरी दिएपछि पनि पतिले गाली बेइज्जती गर्दै कुटपिट गरेको उनकाे भनाइ छ।