काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको बताएका छन् । ललितपुर जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि सचिवालय सदस्य बुढामगरले आपत्ति जनाएका हुन् ।
‘हामीले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेर सहमति गरियो । उहाँ सरकारबाट बाहिरिएपछि सरकारमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित राज्यका सबै निकायलाई तीन बुँदे पालना गर्न बारम्बार आग्रह गरेका छौँ,’ बुढामगरले भने, ‘उल्टै राज्यले हामीलाई पक्राउ पुर्जी जारी गरेर थुन्न खोज्छ । यो तीन बुँदे सहमतिको सरासर उल्लंघन हो, यसमा हाम्रो आपत्ति छ । राज्यले अशान्ति निम्त्याउन खोज्दै छ ।’
राज्यले तीन बुँदे सहमती उल्लंघन गर्न खोजेकाले त्यसबाट हुने क्षतिको भागिदार पनि राज्य नै हुनुपर्ने बुढाले बताए । राज्यले दमन गरेर आत्मसमर्पण गर्ने बताउँदै बुढाले त्यसको सशक्त प्रतिवाद गरिने बताए । एमसीसी, एसपीसी लगायत मुद्दामा प्रतिवाद गरेकाले देशी विदेशी प्रक्रियावादीले नेताहरुलाई सिध्याउन खोजेको बताए ।
गतवर्ष फाल्गुनमा सो पार्टी र केपी ओली सरकार बीच ३ बुँदे सहमति भइ विप्लव नेकपा शान्ति प्रकृयामा आएको थियो । राजनीतिक समस्याहरु शान्तिपूर्णरुपमा हल गर्ने, जेल तथा हिरासतमा रहेका कार्यकर्ता तथा नेताहरलाई रिहा गर्ने र नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने सहमती भएको थियो ।
तर आज फेरि शेरबहादुर देउवा नेतृत्वको सरकाले सो पार्टीका माथिल्लो तहमा नेताहरुलाई पक्राउ पूर्जी जारी गरेको छ । साथै केही महिना अघि मात्रै विप्लव नेकपाबाट अलग भई नेकपा (बहुमत) नामक पार्टी गठन गरेका धर्मेन्द्र बास्तोला लगायतका नेताहरुलाई पनि सरकारले पक्राउ पूर्जी जारी गरेको छ ।
यसैबीच नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले सरकारले सहमति कार्यान्वयन नगर्दा आफूहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हुनसक्ने प्रतिकृया दिएका छन् । उनले यस विषयमा अब सरकारसँग छलफल हुने बताए । ‘हामी खुला राजनीतिमै थियौं । तत्कालीन सरकारले जबर्जस्ती प्रतिबन्ध लगाएर धकेल्न खोजेको थियो ।
त्यसपछि हामीले सहमति गरेर शान्तिपूर्ण खुला राजनीतिमा आएका हौं,’ उनले भने, ‘सहमति कार्यान्वयन गर्ने प्रक्रियामा सरकारले ढिलाढाला गरेको हुनाले अदालतले जारी गरेको होला । हामी सरकारसँग कुरा गर्छौं । सरकारको ढिलाइका कारणले यो आएको हो ।’