• बैशाख २६ २०८३, शनिबार

सरकारलाई ३ बुँदे सहमतिको उल्लंघन नगर्न विप्लव नेकपाको चेतावनी(विज्ञप्तीसहित)

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले ३ बुँदे सहमतिको उल्लंघन नगर्न सरकारलाई चेतावनी दिएको छ । सरकारले आज आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर आफूमाथि षडयन्त्र गरेको आरोप लगाउदै नेकपाले ३ बुँदे सहमतिको उल्लंघन नगर्न चेतावनी दिएको हो ।

पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति प्रक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’

जारी विज्ञप्तीमा पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने पार्टी हातमा दही जमाएर नबस्ने सरकार र राज्यका अधिकारीहरूलाई चेतावनीसमेत दिइएको छ र यसबाट भविष्यमा निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्ने उल्लेख गरेको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता तथा कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको छ ।