काठमाडौं । आर्थिक वर्षको अन्त्यमा सञ्चय कोषका १० जना कर्मचारी एकैपटक विदेश भ्रमणमा गएका छन् । कोषका १० कर्मचारी अध्ययन भ्रमणका नाममा बुधबार थाइल्यान्ड गएका हुन् ।
आर्थिक वर्ष सकिनै लाग्दा कोषका कर्मचारी चार दिनका लागि थाइल्यान्ड घुम्न गएका हुन् । सञ्चय कोषकै पैसाबाट उनीहरू घुम्न निस्केका हुन् । उनीहरू असार मसान्तमा फर्किनेछन् ।
कर्मचारीको टोली अध्ययन भ्रमणका लागि थाइल्यान्ड गएको कोषका प्रवक्ता दामोदर सुवेदीले बताए । ‘टोली अध्ययन भ्रमणमा गएको हो,’ उनले भने, ‘यो खासै ठूलो कुरा होइन ।’
भ्रमण नियमित कार्यक्रम भएको उनको दाबी छ । कोभिडका कारण रोकिएको विदेश भ्रमण अहिले सुरु भएको उनले बताए । आर्थिक वर्षको उत्तरार्धमा अहिले विभिन्न निकायका कर्मचारी विदेश भ्रमणमा छन् । जेठ दोस्रो सातायता मात्रै पाँच निकायका एक सय ७९ कर्मचारी वैदेशिक भ्रमण गएका थिए ।
यस्तै, भन्सार विभागबाट पनि हालै ६ जनाको टोली मलेसिया पुगेको छ । विभाग स्रोतका अनुसार कर्मचारीको उक्त टोली अहिले मलेसियामै छ । भन्सार प्रणाली ‘आसिकुडा डेभलपमेन्ट ट्रेनिङ’का लागि टोली मलेसिया गएको भन्सार स्रोतले बतायो ।
यसको खर्च भने संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट’ले व्यहोर्ने स्रोतको दाबी छ । टोली १० दिनका लागि मलेसिया गएको हो । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।