काठमाडौं । विराटनगर महानगरपालिका–६ झरना चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमाथि सेल्फी पुल निर्माणको काम अघि बढ्यो ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संसद विकास कोषको रकमबाट ५ दिनभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता असार १९ गते महानगरपालिकासँग भएको हो ।
कार्कीको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८र०७९ को बजेटले ३२ फिट लम्बाई र ६ फिट चौडाईको पुल बनाउने योजना थियो ।
उपभोक्ताको १० प्रतिशतसहित १० लाख ६९ हजार १ सय ९१ रूपैयाँ लागत अनुमान गरिएको योजनाको शीलान्यास वडाध्यक्ष अक्षयलाल भनिने हरिश्चन्द्र सहनीलाई सँगै राखेर मन्त्री कार्कीले नै गरेका हुन् ।
संसद विकास कोषको ९ लाख ६२ हजार २ सय ७२ अनुदान र १ लाख ६ हजार ९ सय १९ रूपैयाँ बराबरको जनसहभागितामा ललनप्रसाद साहको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर निर्माण सुरु गरियो ।
अनियमित योजनाको सूचना पाटी (बोर्ड)मा भने असार १६ गतेबाट काम सुरु गरेर २४ गते सम्पन्न गरिएको उल्लेख छ । तर काम पूरा नभइकन निर्माण सम्पन्न भइसकेको देखाउन खोजिएसँगै विरोध भएपछि निर्माणस्थलबाट सूचना बोर्ड हटाइसकिएको छ । योजना अलपत्र बनेको छ ।
महानगरपालिकामा बिल भने निर्माण सम्पन्न भइसकेको भनेर पेश गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।