• फाल्गुन २३ २०८२, शनिबार

राज्यको ढुकुटी सक्न कर्मचारी धमाधम विदेश भ्रमणमा

असार २९ २०७९, बुधबार

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट रोक्न गत वैशाखमा सरकारले अनिवार्य प्रतिनिधित्व हुनुपर्नेबाहेक निजामती कर्मचारीको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो । तर, बजेट सक्न आर्थिक वर्षको अन्त्यमा विदेश सयरमा कर्मचारी लर्को लागेका छन् । मध्य जेठयता मात्रै एक सय ७९ कर्मचारीले विदेश भ्रमण गरेका छन् ।

खासगरी बजेट धेरै भएका मन्त्रालयहरू अर्थ, कृषि, पर्यटन, वन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ठूलो संख्यामा कर्मचारीले विदेश भ्रमण गरेका छन् ।

नयाँ पत्रिकालाई प्राप्त तथ्यांकअनुसार जेठको दोस्रो सातायता कृषि मन्त्रालयका ६०, वन तथा वातावरण मन्त्रालयका ४१, अर्थ मन्त्रालयका ४०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २६ र पर्यटन मन्त्रालयका १२ कर्मचारीले विदेश भ्रमण गरेका छन् ।

उनीहरूमध्ये अधिकांश फर्किसकेका छन् भने केही फर्किने क्रममा छन् । विदेश घुम्न जाने निजामती कर्मचारीलाई सरकारले भत्ताको व्यवस्था गरेको छ । अघिल्ला दुई वर्ष भने कोभिडको विश्वव्यापी महामारीका कारण कर्मचारीको विदेश भ्रमण खुम्चिएको थियो ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीले बजेट सक्न विदेश भ्रमण गर्ने काम गलत भएको बताए । ‘विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्र नै अप्ठ्यारोमा परिरहेका वेला बजेट सक्नकै लागि कर्मचारीहरूले विदेश भ्रमण गर्नु गलत हो । अहिले विदेशी मुद्राको सञ्चिति जतिसक्दो बढाउनुपर्नेछ ।

यसको मतलब खर्च नै नगर्नु भन्ने पनि होइन । बचाउनुपर्छ भनेको हो । यसर्थ विदेश भ्रमण अहिलेको प्राथमिकता होइन,’ उनले भने, ‘अर्थतन्त्र मात्र होइन स्वास्थ्यका दृष्टिकोणले पनि विदेश भ्रमण कम गर्नतिर सरकारले कडाइ गर्नुपर्छ । विदेश नै नजानु भनेको होइन, तर गएपछिको परिणाम के आयो त रु त्यतातिर ध्यान दिनुपर्छ । बजेट सक्ने हिसाबमा विदेश भ्रमण गर्नुहुँदैन । नागरिकको करको पैसा खर्च गरेको परिणाम आउनुपर्छ । त्यसको जवाफदेहिता हुनुपर्छ ।’

अध्यागमन विभाग स्रोतका अनुसार चालू आर्थिक वर्ष ०७८र७९ मा ६ हजार चार सय ३८ कर्मचारी र पदाधिकारी ‘अफिसियल भिजिट’मा विदेश गएका छन् । विभागले जारी गरेको ‘अफिसियल पासपोर्ट’का आधारमा यो संख्या निकालिएको हो । आर्थिक वर्ष ०७७र७८ को भन्दा यो संख्या तीन गुणाले बढी हो । त्यस वर्ष दुई हजार १७ कर्मचारीले विदेश भ्रमण गरेका थिए ।

तर, विदेश भ्रमण गर्ने कर्मचारीको आधिकारिक संख्या भने योभन्दा पनि बढी छ । कतिपय व्यक्तिगत पहल र सहयोगी दाताको खर्चमा समेत विदेश भ्रमणमा गएका छन् । यसरी भ्रमण गर्नेलाई उक्त तथ्यांकमा नसमेटिएको विभागका कर्मचारीहरू बताउँछन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।