काठमाडौं । सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको विषयमा संसद्को अर्थ समितिले गृह मन्त्रालयसँग जवाफ मागेको छ ।
अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको विषयमा सरकारले किन हतियार खरिद गर्न लागेको भन्दै मन्त्रालयसँग जवाफ मागेको हो ।
समितिले मन्त्रालयसँग सम्पूर्ण कागजातसहित तीन दिनभित्र जवाफ दिनुपर्ने जनाएको छ । सरकारले तत्काल ८४ करोड रुपैयाँको हतियार खरिदका लागि नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ ।
सो हतियार खरिदका लागि नेपाल प्रहरीले इटालीको एक कम्पनीबाट ल्याउने तयारी गरेको छ । इटालीको बेर्रेटा कम्पनीमा बनेका हतियार ल्याउने गरी प्रक्रिया अघि बढाइएको छ ।
सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगा हुने भएकाले बेर्रेटा कम्पनीबाट हतियार खरिदका लागि बुक गरिएको हो ।
बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल ल्याउने प्रक्रिया अघि बढेको हो । सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो मूल्य पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय मूल्यमा ल्याउने प्रक्रिया सुरु गरेको स्रोतको दाबी छ ।
तर नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले नेपाल प्रहरीलाई आवश्यक परेकाले खरिद प्रक्रिया अघि बढाइएको बताए । उनले नेपाल प्रहरीले सात वर्षदेखि हतियार खरिद गर्न नपाएको र अहिलेको अवस्थामा शान्तिसुरक्षा कायम गर्न हतियार खरिद गर्न लागेको बताएका हुन् ।
उनले शान्तिसुरक्षालाई खलल नपुग्ने गरी हतियार खरिद गर्न लागेको र पैसा पनि नेपाल प्रहरीकै भएको समेत जानकारी दिए । ‘नेपाल प्रहरीले विगतमा हतियार खरिद गर्न बजेट छुट्याएको थियो । सोही बजेटबाट हतियार खरिद गर्न लागिएको हो,’ डिआइजी राईले भने । यो समाचार नागरिक दैनिकमा छ ।