• फाल्गुन २८ २०८१, बुधबार

अरबौँको हतियार खरिदमा कमिसनको चलखेल, पूर्वगृहमन्त्री शर्माको संलग्नता

असार २७ २०७९, सोमबार

काठमाडौं । नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ ।

इटालीको बेर्रेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो । सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगो हुने भन्दै बेर्रेटाबाट ल्याउन लागिएको हो ।

बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल खरिद गर्न लागिएको हो । सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ ।

यो लागत मूल्यभन्दा झन्डै चार गुणा बढी हो । १२ बोरका बन्दुक चलाउन नेपाल प्रहरीले १० वर्षअघि नै बन्द गरेको भए पनि सोही खालको हतियार ५० हजार केजी बुक गरिएको हो ।

‘सरकारले निर्णय गरेपछि बिहीबार इटालियन कम्पनी बेर्रेटासँग हतियार बुक गरिएको छ,’ स्रोतले भन्यो, ‘यो लागत मूल्यभन्दा धेरै बढी हो। यसमा नेपाली बिचौलियाहरूको हात छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र हालै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको चासोमा नेपालबाट व्यापारी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स र त्यसअन्तर्गत रहेको अर्को एक कम्पनीले हतियार खरिदका लागि मध्यस्थता गरिरहेको छ । ‘राजनीतिक रुचि र चासोबिना हतियार खरिद सम्भव छैन ।

यसमा प्रधानमन्त्री देउवा र पूर्वअर्थमन्त्री शर्माको सबैभन्दा बढी रुचि रहेको देखियो,’ गृह मन्त्रालयका एक अधिकारीले भने । हतियार खरिदका लागि भट्टले प्रधानमन्त्री र अर्थमन्त्रीलाई मनाएर बजेट हाल्न लगाएको स्रोतको भनाइ छ । यो समाचार नागरिक दैनिकमा छ ।