• फाल्गुन २८ २०८१, बुधबार

कांग्रेसले मन्त्री फेरबदल गर्ने, देउवाले गर्न नचाहे विरोधमा उत्रिने संस्थापनइतर शेखर पक्षको चेतावनी

असार २७ २०७९, सोमबार

काठमाडौं । कांग्रेसको संस्थापनइतर समूहले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेरका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष शेरबहादुर देउवालाई दबाब दिने भएको छ ।

सरकारका काम–कारबाहीप्रति असन्तुष्ट कांग्रेसको डा. शेखर कोइराला नेतृत्वको इतर समूहले पार्टीभित्रको शक्तिसन्तुलनअनुसार मन्त्री हेरफेर गर्नुपर्ने माग अगाडि सार्ने तयारी गरेको छ ।

सोमबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा इतर समूहले पार्टीभित्र पनि आफूहरूको शक्तिअनुसार भागबन्डा दिनुपर्ने माग गर्ने भएको छ ।

केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा आइतबार इतर समूहका नेताहरूको बैठकले सरकार र पार्टीमा भागबन्डाको विषयलाई लिएर प्रधानमन्त्री एवं पार्टी सभापति देउवामाथि दबाब बढाउने रणनीति बनाएको छ ।

एजेन्डाबारे छलफलका लागि आइतबार बोलाइएको पदाधिकारी बैठकअघि डा. कोइराला नेतृत्वको समूहले छुट्टै भेला गरेर इतर समूहले आफ्नो तयारी गरेको छ ।

उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालगायतका नेता सहभागी सो भेलाले पार्टी र सरकारको काम कारबाहीबारे समीक्षासहित दबाब दिने निर्णय लिएको छ ।

इतर पक्षले सरकारमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेकाले यसबारे समीक्षा गर्नुपर्ने मुद्दा पनि उठाउने तयारी गरेको छ  ।

इतर समूहले १४औँ महाधिवेशनपछिको ६ महिनाको समीक्षा, सरकारको एक वर्षे कार्यकालको मूल्यांकन, स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको राणनीति, कोषाध्यक्षको मनोनयनमा भएको ढिलाइ, भ्रातृ संस्थामा भएको मनोनयन तथा केन्द्रीय समिति गठन र विस्तारमा इतर पक्षलाई गरिएको बेवास्ताको विषय उठान गर्ने तयारी गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।